अस्ट्रेलियाको भिषा लागेपछि मनकामना दर्शन र पुर्ख्यौंली थलोमा पुगेर सबै आफन्तहरुसँग भेटघाट गर्न संगै हिडेका सुमित सहित बहिनि र आमाको सडक दुर्घटनामा परि निधन !

चितवन । शनिबार दिउँसो १ बज्दै थियो । भानु नगरपालिका १ भन्सारमा मानिसहरुको ठूलो भीड लागेको थियो । सबैका अनुहार मलिन र निन्याउरा देखिन्थे ।
चितवनको चुम्लिङटारमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएका एकै परिवार तीन सदस्यको शव ल्याइपुर्‍याइयो ।
चितवनको भरतपुर अस्पतालको शव गृहमा एक रात राखेर शवलाई उनीहरुकै पुर्ख्यौली घर भन्सार लगियो । बस दुर्घटनामा नपरेको भए शुक्रबार साँझ नै हाँस्दै रमाउँदै पुर्ख्यौली घरमा पुग्ने विष्णुकुमार श्रेष्ठको परिवारका तीन सदस्य शनिबार निर्जिव बनेर घर अगाडिको आँगनमा तेर्सिए ।
८ बर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएका विष्णुकुमारकी ४७ वर्षीया श्रीमती कमला श्रेष्ठ, २७ बर्षका छोरा सुमित र १९ बर्षकी छोरी कविनाको चुम्लिङ्टार वस दुर्घटनामा परेर मृत्यु भएको थियो ।
घाइते विष्णुकुमार चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत छन् । अस्पतालमा छट्पटाइरहेका विष्णुकुमारले आफ्ना तीन प्रियजनलाई अन्तिममा एकपटक हेर्न र विदाई गर्न समेत पाएनन् । छोरा सुमितको अस्ट्रेलियाको भिसा लागेको थियो ।
अस्ट्रेलिया जानुअघि मनकामनाको दर्शन गर्ने र एक पुर्ख्यौंली थलोमा पुगेर सबै आफन्तहरुसँग भेटघाट पनि गर्ने योजना अनुसार उनीहरु मनकामना र तनहुँ आउँदै थिए । तर दुःखद दुर्घटनामा परेका उनीहरुले नत भगवानको दर्शन नै गर्न पाए नत आफन्तहरुसँग भेटेर खुसी साट्न नै ।
बुबा विष्णुकुमार काठमाडौंमा होटलमा प्रबन्धकका रुपमा काम गर्थे । उनले दुवै छोराछोरीलाई उतै राखेर पढाए । उनको परिवारमा एक छोरा, एक छोरी र एक श्रीमती मात्रै छन् । तीनै जनाको दुर्घटनामा ज्यान गयो । छोरालाई अष्ट्रेलिया पठाउने र परिवारलाई सुख दिने परिकल्पना गरेका विष्णुकुमारको सपना चुम्लिङटारको दुर्घटनामा फुटेको छ ।
उनी परिवारमा एक्लो भएका छन् । घर अगाडि राखिएका लासहरुलाई अन्तिम संस्कार लागि घाटतर्फ लैजाने तयारी गरियो । उपस्थित भीडमा रुवावासी चल्यो । एकै घरको आँगनबाट तीन तीनवटा लास उठाउँदा यस्तो घटना फेरि कसैलाई पनि नपरोस् भगवान भनेर कामना गर्नेहरु थिए सबै ।

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

أحدث أقدم