के अनलाइन श्राद्ध गर्न हुन्छ या हुदैन ? ज्योतिष तथा वास्तुविद् गर्गाचार्य के भन्नु हुन्छ पढ्नुहोस

आजबाट यो बर्षको सोह्र श्राद्ध पनि सुरु हुदैंछ, पछिल्लो समय सामाजिक संजालमा अनलाइन श्राद्ध सेवा नामक कम्पनीहरुको बिषयमा धेरै नै कुराहरु पढ्न पाइन्छ | कोरोनाले आक्रान्त पारिरहेको यस समयमा धेरै मानिसहरु भेला हुन पनि जोखिम नै मानिन्छ | पण्डित/पुरेतहरुलाई पनि श्राद्ध गर्दै घर-घरमा जानुभन्दा पछिल्लो समय बहुचर्चित जूम जस्ता प्रविधिको प्रयोग गरेर पनि पुजा गर्न सकिन्छ भन्नेहरुको जमात सामाजिक संजालमा धेरै देखिएको छ तथापि यस विषयमा विश्व हिन्दु परिषद नेपालबाट कुनै आधिकारिक धारणा आएको छैन | विभिन्न राष्ट्रिय स्तरका टेलिभिजनमा ज्योतिष तथा वास्तु कार्यक्रम चलाउँदै आउनुभएका गर्गाचार्यले प्रस्तुत गर्नुभएको यी कुराहरु उहाँको फेसबुकबाट यहाँ सारिएको छ |

ज्योतिष तथा वास्तुविद् गर्गाचार्य
सनातन हिन्दु धर्ममा अनेक शास्त्र र अनेक मत पाइन्छन् । एउटै कुरालाइ पनि कुनै शास्त्रले विधि र कुनै शास्त्रले निषेध गरेका छन् । सबै शास्त्र र सबै मतको अवलम्बन न गर्न सकिन्छ न व्यवहारिक हुन्छ । आफ्नो वंश/गोत्रले मानेको वेद, शाखा, सूत्र, स्मृति आदिले निर्देश गरेका पूजा/श्राद्धकर्महरू गर्दै त्यहिविधिहरूलाइ नै हामीले अवलम्बन गर्ने हो । तसर्थ अहिलेको महालयपार्वण श्राद्ध स्वशाखा,सूत्र आदिको अवलम्बन गरेर गर्नुपर्छ । यसमा दुइमत छैन ।

कुनै एक कालखण्डमा बनेको शास्त्रले भविष्यमा आउने सबै व्यवहारिक कठिनाइका कुराहरूलाइ समेट्न सक्दैन । देश, समय, काल, परिस्थिति आदि अनेक अवयवहरूले व्यक्तिको कर्म गर्ने सक्षमताको निर्क्यौल गर्छ । शास्त्रले भनेका सबै विधिहरू अहिले मान्न सक्ने स्थिति पनि अहिलेको समयमा व्यवहारिक देखिँदैन ।


उदाहरणको लागि :

१. नदि, तलाउ, धारा, इनार आदिमा गएर स्नान गर्नुपर्ने शास्त्रिय वचन अहिले कसरी पूरा हुन सक्छ ? ट्यांकिमा जम्मा गरेको पानीले बाथरूममा बसेर स्नान गर्ने विधि कुन शास्त्रमा वर्णन छ ?


२. धारामा पानी नआएर जारमा भरेको बासी पानी खानुपर्ने समयमा शास्त्रको हवाला दिँदै अनलाइन पूजा/श्राद्ध गर्नु हुँदैन, यो शास्त्रिय विधि होइन भन्नेहरूले माथिका व्यवहारिक कष्टको शास्त्रीय निरूपण कसरी हुन्छ ?


३. श्राद्धकर्म गर्दा यजमानले आफ्नो कपाल खौरिएर गर्नुपर्ने शास्त्रीय विधि विपरित अहिले कपाल नकाटिकन श्राद्ध गर्ने संख्या हाम्रो आँखा अघि बढीरहेको छ । यजमान/ब्राह्मणले मान्नुपर्ने सामान्य शास्त्रीय नियम पनि नमानिकन अहिलेसम्म श्राद्धादि कर्म भैरहेको छ । यसलाइ कसरी हेर्ने ?


४. शास्त्रले व्यवस्था गरेको नियम अनुसार अहिले शुद्ध ब्राह्मण अप्राप्यः जस्तै छ । शास्त्रले भनेको जस्तो नित्य सन्ध्या वन्दन गर्ने, लसुन प्याज छ्यापि, आदि अभक्ष्य नखाने, मद्यादि अपेय ( चुरोट, खैनी जस्ता कुरा )नपिउने, टुप्पी राखेको, मासु, नुन, दुध, दहि, मद्य, पानी, पकाएको अन्न आदि बिक्री वितरण ( व्यापार) नगर्ने,विदेश( समुद्रपार म्लेच्छ देश) नजाने, विजातिहरूसँग सहभोज ( सँगै भोजन )नगर्ने, जागिर नखाएको, ज्योतिष काम नगर्ने आदि ब्राह्मण अहिले खोजेर न पाइन्छ न व्यवहारिक हुन्छ । शुद्ध ब्राह्मणको व्यवस्था कसरी गर्ने ?


५. यजमानले एउटा जनै त मन्त्रपूर्वक विनियोग गरेर लाउन सकक्ने अवस्थामा एउटा कुरामा विधि खोज्ने अरू कुराहरूमा आँखा चिम्लने गरेर सनातन धर्मको रक्षा कसरी हुन्छ ?


५. अहिले धेरैतले अपार्टमेन्टमा बस्ने र त्यही बसेको अपार्टमेन्ट नै घर मान्ने/हुने कानुनी अवस्थामा त्यहीँ बसेको स्थानमा नै श्राद्धादि कर्म गर्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थामा श्राद्ध गाइको गोठ, तीर्थ, भुँइमा नै गराउनुपर्ने नियमको शास्त्रीय निरूपण कसरी हुन्छ ?


६. यजमानले सँधै लगाइरहनु पर्ने जनै त जनैपूर्णिमाको एक दिन लगाएर अरूदिन ट्वाइलेटको कीलामा झुण्ड्याउने घटनाको साक्षात्कार सबै गुरूहरू हुनुहुन्छ । जसले यस्तो घटना अलिअलि मात्रै हो भन्ने ठान्नुहुन्छ उहाँहरू कुवाको भ्यागुतो जसरी एउटा राग मात्र आलापेर बस्ने, घटनालाइ नदेखेजसरी आँखा चिम्लिने हुटिट्याउँको चाला मात्र हो । यो कसैलाइ आक्षेप होइन तर वास्तविक घटना र व्यवहार समाजमा यसैगरी घटीरहेको छ । यस्ता कुराहरूलाइ नजरअन्दाज गर्न सकिन्छ ?


७. शास्त्रले ब्राह्मणलाइ दिने दक्षिणाको परिमाण र परिभाषा (गाइ वा स्वर्णमुद्रा) पनि त्यसै गरी अहिलेको समयमा दिन/गर्न सकिन्छ ?

अहिले शुद्ध गाइको दुध वा गव्य (दुध, घिउ, गोबर, गहुँत ) त नपाइने यो समयमा एउटा कुरामा शास्त्रको अड्चन देखाएर शास्त्रले अनलाइन कर्म गर्नु भनेको छैन भनेको रूढी कुरा मात्र हो । हजारौं वर्ष अधि बनेको शास्त्रमा न इन्टरनेटको कुरा छ न मोबाइल, ल्यापटप आदि प्रविधिको । अनि शास्त्रले इन्टरनेट, मोवाइल आदि चलाउने विधि नै गरेको छैन भनेर त्यसबाट अहिलेको समयमा टाढा बस्न सकिन्छ?

अहिले इन्टरनेटको कारणले विश्व एउटा सानो देशमा खुम्चिएको अवस्था छ । विश्ववन्धुत्वको भावना पहिले भन्दा अहिले अझ बढेको छ । आततायी धर्मको आक्रमण पनि तीव्ररूपमा भै रहेको छ । यस्तो अवस्थामा सनातन धर्मको कर्मकाण्डलाइ अहिलेको व्यक्तिले मान्न सक्ने गरि परिमार्जन वा सहजीकरण गर्दा मात्रै धर्म पछिसम्म बच्ने हो ।
सनातन हिन्दु धर्मको विभिन्न कालखण्डमा यस्तै व्यवहारिक समस्या आएको र त्यसलाइ निराकरण गर्न त्यसबेलाका ऋषि, पुर्खाहरूले त्यसबेला गरिने विधिलाइ केही खुकुलो बनाउँदै लगेर धर्मलाइ मानिसको जीवनमा जोड्न गरेको प्रयाशलाइ हामीले अनुशरण गर्नु नै पर्छ ।
शास्त्रमा विकल्प, अनुकल्प आदिको व्यवस्था आपतकाल आदिको समयमा गरिएको हो । अहिलेको आपतकालिन अवस्थामा जहाँ राज्यले निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमीतको संख्या दिनानुदिन बढ्दै छ । यस्तो अवस्था अझै लामो समयसम्म हुन सक्ने आँकलन गर्न सकिन्छ । विकल्प, अनुकल्पको रूपमा अरू दिनहरूमा गर्न सक्ने समय सीमा पनि नघर्केला भन्न सकिन्न । यस्तो अवस्थामा नियमीत समयमा नै विकल्पहरूको प्रयोग गरेर श्राद्ध आदि कर्म गर्नु श्रेयष्कर हुन्छ ।

Post a Comment

यदी तपाइँ आफ्नो केहि लेख छाप्न चाहनुहुन्छ भने हामीलाई सिधा हाम्रो फेसबुक पेजमा गएर मेसेज गर्न सक्नुहुनेछ |

Previous Post Next Post